काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने छ ।

पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको थियो । आज दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको थियो ।

त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि निर्णय भएको छ ।