काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित ४६औं राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन् ।

उनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने ‍बताएका छन् । ‘म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु।’ उनले भनेका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडेन निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेजमा बाइडेनले हालसम्म २९० इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन् । जुन जितका लागि आवश्यक मत भन्दा बढी हो। बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए।