कर्णालीको मन्त्रीमण्डल हेरफेरको तयारी
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । त्यसका लागि मुख्यमन्त्री शाहीले आफ्नो पक्षका नेताहरुसँग छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।
ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।
बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।
ती मन्त्रीका अनुसार पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका तीनजना मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्न लागेका हुन् । यद्यपी, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।
मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस