काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले जवाफ दिन लागेका हुन् । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमबारे विभिन्न दल र स्वतन्त्र सांसदले आफ्ना धारणा राखेका छन् ।