अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौं-बटुवालाई जौ, चनाको सातु एवं चिसो पानीको सर्वत खुवाइँदै आज अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो ।
यस पर्वमा सर्वत खुवाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउँछन् ।
यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास–२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउछन् ।
यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस