काठमाडौं-सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।

आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका९३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए ।उनको खोजी कार्य जारी रहेको छ ।

उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ।

अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।