काठमाडौं - मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ। समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरबाट केन्द्र सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा सार्वजनिक मोडल अन्तर्गत मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित केन्द्रलाई मध्यमकालीन (६–१० वर्ष) परियोजनाका रूपमा अघि बढाउने तथा स्वास्थ्य क्षेत्रअन्तर्गत सामाजिक क्षेत्रको प्राथमिकता प्राप्त आयोजनाका रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा क्यान्सर तथा मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्यअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. विक्रम वीर वज्राचार्यको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो। समितिमा डा. कल्पना कुमारी श्रेष्ठ, डा. धिरज नारायण मानन्धर, डा. हेमन्त चन्द्र ओझा तथा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल (सदस्य–सचिव) रहेका थिए।

.gif)



