काठमाडौं,बुटवल - प्रदेश सभामा दर्ता भएकाे प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ह्विप जारी गरेको छ ।

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दर्ता गरेको थियो ।

सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न भनेको हो । प्रदेशमा नेकपाबाट मतदान गर्न मिल्ने ६१ जना सांसद छन् ।

प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ ।

६१ सांसद रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।