काठमाडौं, एजेन्सी - बेलायतमा पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । दैनिक १२ हजारभन्दा बढी संक्रमित थपिदै गएको अवस्था रहेको छ । अवस्था थप जटिल भन्दै गएपछि बेलायत सरकारले तीन तहको लकडाउनको घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जोखिमको आधारहरु विश्लेषण गर्दै तीन तहको लकडाउन गरेको घोषणा गरेका हुन् ।  बिबिसी मिडियाका अनुसार लकडाउन मध्यम, उच्च र अति उच्च जोखिमका आधारमा हुनेछन् । 

एक रिपोर्टका अनुसार लिभरपुलमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । सोही कारण पनि लिभरपुल सबैभन्दा जोखिम क्षेत्रमा परेको बताइएको छ । लिभरपुलमा रहेका अधिकांश जिम, पव लगायत भिड हुने ठाउँहरुमा प्रतिबन्ध लगाएको छ । हालसम्म युकेमा कोरोना संक्रमणबाट ४२ हजार ८७५ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि युकेमा फेरि भयावहस्थिति सिर्जना भएको छ । पछिल्लो २४ घण्टामा युकेमा झण्डै १४ हजार संक्रमित थपिएका छन् 

४४२ जनाको अवस्था भने गम्भीर रहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि युकेले थप प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।