काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले विरोधपत्र दर्ता गराएको छ ।

सोमबार केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले पार्टी केन्द्रीय कार्यालयमा पुगेर विरोधपत्र दर्ता गराएका हुन् । आउँदो १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति पौडेल समूहले असहमति जनाएको छ ।

पौडेल समूहले आगामी असोज १९ गते केन्द्रीय समितिको बैठक अघि विधान मिचेर विस्तार गरेको विभाग खारेज गर्न, सदस्यता वितरण एकलौटी नगर्न देउवालाई अल्टिमेटम दिएको छ । १९ गतेसम्म पनि नसच्चिए चरणवद्ध विरोधको कार्यक्रम गर्ने जनाएको छ ।

विरोधपत्रमा वरिष्ठ नेता पौडेल लगायत महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षर छ ।