काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् ।

झापाको दमक अस्पताल भवनको आइतवार भर्चुअल कार्यक्रममार्फत शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ रेल ल्याइसकिएको र छिट्टै सञ्चालनमा ल्याउने बताएका हुन् । ‘नयाँ रेल ल्याइसकेका छौं, छिट्टै सञ्चालनमा ल्याउछौँ । पूर्वपश्चिम रेलको तयारी गर्दैछौँ ।’ उनले भने, ‘काम विभिन्न ठाउँबाट प्रारम्भ भएको छ । अब पूर्वबाट तयारी अगाडि बढाउँदैछौँ ।’

मुलुक अहिले विकासको बाटोमा अग्रसर भइरहेको तर, कोभिड-१९ को महामारीका कारण केही व्यवधान खडा भएपनि विभिन्न ठाउँमा शिलान्यास र सरकारी भवनहरु निर्माण भइरहेका उनले बताए । सुरूङ मार्ग, जलमार्ग र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको उनको भनाई छ ।

यस्तै, प्रधानमन्त्री ओलीले विकासमा अवरोध गर्ने, काम हुन नदिने संकीर्णता राजनीतिक दलले राख्‍न नहुने पनि बताएका छन् । उनले झापामा बन्‍न लागेको रङ्शालामा अवरोध हुनु दुःखद भएको उल्लेख गरेका छन् ।