नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सूरू भएकाे छ । प्रधानमन्त्री निबास बालुवाटरमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्नेछन् ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेको हुन् ।
यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।
अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क अघि सारेका थिए ।
यस्तै आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि प्रचण्ड-नेपाल समूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस