काठमाडौं उपत्यकाबाट यस्तो देखिएकाे सूर्यग्रहण
काठमाडौं - आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजेबाट सुरु भएको हो। मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २ :२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए ।
शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०: ५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस