नेपाललाई पाँच वर्षमै डिजिटल हब बनाउँछौँ : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई सूचना प्रविधि (आईटी) क्षेत्रमा विश्वस्तरमा पुर्याउने आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएका छन्।
केही वर्षअघि किर्तिपुरको एक राजनीतिक सभामा ‘किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर महिनाको तीन–चार लाख कमाउन सकिन्छ’ भनेर दिएको अभिव्यक्ति स्मरण गराउँदै थापाले उक्त भनाइ ट्रोल र हाँसोको विषय बने पनि त्यो हावादारी कुरा नभई ठोस योजनामा आधारित विश्वास भएको बताएका छन्।
थापाले भने, ‘मैले हावादारी कुरा गरेको थिइनँ। मसँग योजना थियो र छ।’ उनका अनुसार अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत आईटी क्षेत्रमा गरिएका केही कानुनी सुधारहरूले तत्कालै सकारात्मक परिणाम दिएको थियो।
उनले सन् २०१९ मा घोषणा गरिएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ र सन् २०२४–२०३४ लाई ‘आईटी डिकेड’ घोषणा गरिएको योजनालाई पनि स्मरण गराएका छन्।
थापाले आईटी क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको निर्यात, ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
उनले आगामी पाँच वर्षभित्र यो लक्ष्यलाई अझ महत्वाकांक्षी बनाउन सकिने दाबी गर्दै ४ खर्ब रुपैयाँ बराबरको आईटी तथा डिजिटल सेवा निर्यात, २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी, २०० भन्दा बढी नेपाली आईटी कम्पनीहरू विदेशमा विस्तार तथा ३–५ आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने सम्भावना औंल्याए।
थापाले अघिल्लो सरकारको पालामा ६० वर्ष पुरानो कानुन संशोधन गरी आईटी क्षेत्रमा विदेशी लगानी खुला गरिँदा चारभन्दा बढी कम्पनीहरूलाई विदेशमा लगानी गर्न मार्ग प्रशस्त भएको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस