काठमाडौं,रोल्पा - आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । रोल्पा शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजु नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रवार फेला परेको थियो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।