काठमाडौं - युरोपेली देश इटालीमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ३४५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट चीनपछि सबैभन्दा बढी प्रभावित देश इटाली करिब तीन हजारमा नयाँ संकमण देखिएको इटालियन समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

केहि दिनदेखि 'लकडाउन' रहेको इटालीमा अहिलेसम्म कोरोनाका कारण २५०३ को मृत्यु भएको छ भने करिब ३१ हजार बढी संक्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ ।

बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।