काठमाडौं - प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित हो ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित दलहरूको छ।

सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्नुपर्ने अडानमा छन्। सत्ता र प्रतिपक्षीबीच कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन।