काठमाडौं - डा. बाबुराम भट्टराई भोलि भारत प्रस्थान गर्ने भएका छन्। 

भट्टराई भारतमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई बुधबार त्यसतर्फ प्रस्थान गर्र्न लागेका हुन्। 

नयाँदिल्लीस्थित भारत मण्डपममा मार्च १२ देखि १४ सम्म सञ्चालन हुने समिटमा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

सम्मेलनअन्तर्गत मार्च १४ बिहान १०:०५ बजे हुने “Democracy in the Age of AI: Digital Governance & The Youth” शीर्षकको सत्रमा भट्टराईले ‘गेस्ट अफ अनर एड्रेस’ दिने कार्यक्रम रहेको छ । उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार प्रस्तुत गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने सम्मेलनलाई समसामयिक वैश्विक मुद्दामाथि बहस र सहकार्यका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

भट्टराई मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।