एजेन्सी - अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबिया र इजरायललाई १५ अर्ब डलरभन्दा बढी मूल्यको हतियार बिक्री गर्ने निर्णय गरेको छ ।

अमेरिकी विदेश विभागले साउदी अरेबियालाई करिब ९ अर्ब डलर र इजरायललाई ६.६७ अर्ब डलर बराबरको ठूलो हतियार बिक्री अनुमोदन गरेको हो।

इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावना बढ्दै जाँदा मध्यपूर्वमा तनाव चुलिएको पृष्ठभूमिमा विदेश विभागले शुक्रबार ९स्थानीय समय० ढिलो गरी यो घोषणा गरेको हो। विभागले यसअघि नै कांग्रेसलाई सूचित गरेपछि हतियार बिक्रीसम्बन्धी विवरण सार्वजनिक गरिएको हो।

राष्ट्रपति ट्रम्पले गाजाका लागि प्रस्तावित युद्धविराम योजनालाई अघि बढाइरहेका बेला यो घोषणा हुनुलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

विदेश विभागका अनुसार साउदी अरेबियालाई ७३० वटा प्याट्रियट मिसाइल र त्यससँग सम्बन्धित उपकरणहरू बिक्री गरिनेछ ।

इजरायलका लागि स्वीकृत हतियार बिक्री चार छुट्टाछुट्टै प्याकेजमा विभाजन गरिएको छ। यसअन्तर्गत ३० वटा अपाचे आक्रमण हेलिकप्टर तथा सम्बन्धित उपकरण र हतियारहरू, साथै ३ हजार २५० वटा हल्का रणनीतिक सवारी साधनहरू समावेश छन्।