काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताएका छन् ।

चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने,‘संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ । बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ ।’

लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताउँदै उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताए ।

भगवान बुद्धको शान्ति र शिक्षाको महत्त्व बढ्दै गएको उनको भनाई थियो । विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै उनले बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको पनि बताए ।