काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शुक्रबार साँझ प्रचण्ड र भट्टराईबीच भेट भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुगेका थिए भने भट्टराई पनि सँगै पुगेका थिए । तीन नेताबीच आधा घण्टा भन्दा बढी भेटवार्ता भएको स्रोतले बताएको छ ।

भेटमा पछिल्लो राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको थियो भने विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल भएको बताइएको छ ।

यसैबिच भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप प्रचण्डसँग भेटवार्ता भएको खुलाएका छन् । अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने वेला आएको भन्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउबा,माधव नेपाल,प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुॅ। गर्दैरहनेछु !’