'पार्टी एकतामा सक्रिय पहल गरौं'
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतामा सक्रिय पहल गर्नको लागि अपिल गरेका छन् ।
सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले पार्टी फुट र फुटजन्य क्रियाकलाप कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताउँदै एकताको लागि पहल गर्न आग्रह गरेका हुन् ।
नेता श्रेष्ठले पार्टीभित्र देखिएको विवाद देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर अन्त्य गर्नुपर्ने बताएका छन् । उनले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट नहोस् भन्दै सोच्न समेत आग्रह गरेका छन् ।
पार्टी भित्रको विवाद व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नहुने उनको भनाइ छ । उनले पार्टीको बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव, मन्त्रिमण्डल पुर्नगठन, पर्साको विन्दावासिनीमा कार्तिक ६ गते भएको झडपमा गाउँपालिका सचिव मुकेश चौरसिया मारिएको घटना, महत्वपूर्ण नियुक्तीहरु, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटको कारण प्रचण्ड र नेपाल खेमा असन्तुष्ट बनेको छ । सोही कारण कार्तिक ३ गतेदेखि प्रचण्डले बालुवाटारको छलफलको निमन्त्रणा समेत अस्वीकार गरेका थिए ।
तर, शनिबार र आइतबार ओली र प्रचण्डबीच भएको कुराकानीमा पार्टी फुटको कुरा उठेपछि यसले नेपाली राजनीतिमा तरंग ल्याएको छ । ओलीको उक्त प्रस्तावपछि प्रचण्डले आफ्नो निवासमा सचिवालयका ६ नेताहरुलाई बोलाएर ब्रिफिङ गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस