काठमाडौं-भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजो ज्यान गएको भारतीय सञ्चार माध्यमको समाचारमा उल्लेख छ।

मृत्यु हुनेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन्। चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए। चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो।

हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो। ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए। उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्यान गएको भारतीय प्रहरीको भनाई छ।