काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको बताएका हुन् ।

गृहमन्त्रीमाथि कुनै आरोप, छानबिन नभएकाले राजीनामा दिन नपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रतिपक्षी दलहरूले आफ्नो अस्तित्व देखाउनका लागि गृहमन्त्रीमाथि अनुचित आरोप लगाएको बताउँदै उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग गर्नु नित्तान्त पूर्वाग्रहपूर्ण, निराधार, अनुचित क्रियाकलाप हो ।

गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन ।’ एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको उनले बताए । विपक्षी दलहरूले संसद्‌मा आधारहीन माग गरिरहेको ‌ओलीको भनाइ थियो ।