काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गर्ने निष्कर्ष निकालेको हो । भेलाले बुधबार नेकपा स‌ंसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । 

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसद गरी कुल ११४ सांसदले हस्ताक्षर गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् । ओलीले भने आज बिहानै बालुवाटारमा आफू पक्षका नेताहरूको भेला गरेका थिए ।