शान्तिपूर्ण निर्वाचन गराउन भूमिका खेलेको भन्दै कर्मचारीलाई सशस्त्रका आईजीपीद्वारा धन्यवाद व्यक्त
काठमाडौं - फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई आइजीपी महानिरीक्षक राजु अर्यालले धन्यवाद दिएका छन्।
सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले विभागीय प्रमुखहरू, निर्वाचन अनुगमनमा परिचालित वरिष्ठ उपरीक्षक तथा उपरीक्षकहरूलाई प्रत्यक्ष रूपमा धन्यवाद दिएका हुन्।
साथै भर्चुअल माध्यमबाट सहभागी भएका सबै प्रदेशका बाहिनी पति, विभिन्न कार्यालय प्रमुख तथा सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि उनले आभार व्यक्त गरेका थिए।
महानिरीक्षक अर्यालले संगठन अनुशासन, इमानदारिता र राष्ट्रप्रतिको समर्पणलाई मूल मूल्य मान्दै अघि बढिरहेको उल्लेख गर्दै प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको योगदान उल्लेखनीय रहेको बताए।
उनले फागुन २१ मा सम्पन्न निर्वाचन सुरक्षा व्यवस्थापन सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण भए पनि सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरे। यसबाट सशस्त्र प्रहरी कर्मचारीहरूको व्यावसायिक क्षमता र जिम्मेवारीप्रति प्रतिबद्धता पुष्टि भएको उनको भनाइ थियो।
कार्यक्रमका क्रममा महानिरीक्षक अर्यालले संगठनमा कार्यरत सबै दर्जाका कर्मचारीलाई आचारसंहिता विपरीत गतिविधिमा संलग्न नहुन निर्देशन दिएका थिए।
त्यसैगरी, संगठनको तटस्थ छवि कायम राख्न कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सीमा क्षेत्रमा परिचालन हुँदा सम्बन्धित निकाय र समकक्षी निकायसँग समन्वय गरी कार्य गर्न पनि निर्देशन दिए।
सरकारले निर्वाचनमा ३४ हजार ५७६ जना सशस्त्र प्रहरी खटाएको थियो । यस्तै ७९ हजार७२७ जना नेपाली, ७५ हजार ७९७ जना नेपाल प्रहरी र १९२१ जना राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाइएका थिए । यसबाहेक १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस