संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा
काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।
'संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने, म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु- म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।
त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन्।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस