प्रधानमन्त्री ओलीले आफ्नै नेताबाट निरन्तर असहयोग पाएपछि संसद् विघटन गरेः दाहाल
काठमाडौं - राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेताहरुबाट निरन्तर असहयोग पाएपछि संसद् विघटन गरेको बताएका छन् । जारी राष्ट्रिय सभा बैठकमा बोल्दै ओली पक्षका नेता दाहालले आफ्नै पार्टीका नेताहरु सरकारविरुद्ध खनिएको कारण ताजा जनादेशको लागि संसद् विघटन गरेको उनको भनाई छ ।
बैठकमा बोल्दै नेता दाहालले हाल नेपालको कम्युनिष्ट आन्दोलन ओरालो लागेको कारण चिन्तित भएको बताएका छन् । कम्युनिष्ट भित्रैकै खिचातानीमा प्रतिपक्ष दल नेपाली कांग्रेस रमिते बनेको उनको भनाई छ । त्यस्तै, उनले कम्युनिष्ट भित्रको गतिविधि कांग्रेसले मनोरञ्जन गरेको आफूलाई लागेको भनाई राखे ।
बैठकमा बोल्दै दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावबाट भागेको आरोप लगाए । उनले कांग्रेस चुनावबाट भागेको र त्यसबारे कांग्रेसलाई जनताले प्रश्न गर्ने बताए ।
अर्को प्रशंगमा बोल्दै नेता दाहालले नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार गर्नेमा कांग्रेस नेताहरु रहेको आरोप लगाए । अकुत सम्पती कमाउनेमा धेरै नेपाली कांग्रेसका नेताहरु नै भएकाले कांग्रेसले त्यसबारे बोल्नुको औचित्य नरहेको उनको भनाई छ । ओली समूहका नेता रहेका कारण उनले प्रधानमन्त्री तथा सरकारको बचाउ गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस