एजेन्सी - राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा कोरोना भाइरसबाट दुई लाख मानिसको ज्यान जानु लज्जाजनक विषय भएको बताएका छन् । उनले सरकारले कोरोना रोक्न हरसम्भव उपायहरु अवलम्बन गरिरहेको पनि दावी गरे ।

द गार्डियनका प्रकाशित खबरका अनुसार ट्रम्पले मंगलबार ह्वाइट हाउसमा मिडियासँग कुराकानी गर्दै यस्तो टिप्पणी गरेका हुन् । एक रिपोर्टरले उनलाई सोधेका थिए, ‘अमेरिकामा कोरोना भाइरसबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तपाईं यसबारे के भन्नुहुन्छ ?’

जवाफमा ट्रम्पले भने, ‘मेरो हिसाबमा त यो शर्मनाक विषय हो । तर, म यो पनि भन्छु कि यदि हामीले सही समयमा सही कदम नउठाएको भए यो संख्या अढाई लाखभन्दा बढी पनि हुनसक्थ्यो ।’

उनले अगाडि थपे, ‘तपाईंले मेरो संयुक्त राष्ट्र संघको भाषण हेर्नुभयो होला । चीनले चाहेको भए कोरोनालाई चीनबाट बाहिर जान नदिनसक्थ्यो । उनीहरुले यसलाई संसारको हरेक भागमा पुर्‍याए ।’

बुधबारसम्म संसारमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख पुगेको छ । २ करोड ३३ लाख ८२ हजार मानिस कोरोनामुक्त हुँदा ९ लाख ७४ हजार ६२० जना मानिसले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा झण्डै ७० लाख ९८ हजार मानिस संक्रमित हुँदा २ लाख ५ हजार ४७१ मानिसले ज्यान गुमाइसकेका छन् । ४३ लाख ४६ हजार मानिस कोरोनामुक्त हुँदा २५ लाख ४६ हजार मानिस अझै संक्रमित रहेका छन् । यीमध्ये १४ हजारभन्दा धेरै मानिसको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।