काठमाडौं - युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन्। 

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टकरावपछि वार्ताका लागि जेलेन्स्की बेलायत पुगेका हुन्।  जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा बेलायती प्रधानमन्त्री कियर स्टार्मरले स्वागत गरे। प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्दा उपस्थित भीडले जेलेन्स्कीलाई स्वागत गरेको थियो। 

जेलेन्स्कीले आज युरोपेली नेताहरूको सम्मेलनमा सहभागी भएर युक्रेनको शान्ति योजनाका बारेमा छलफल गर्ने जनाएको छ। प्रधानमन्त्री स्टार्मरले बेलायत युक्रेनको पूर्ण साथमा रहेको प्रतिबद्धता जनाए। जेलेन्स्कीले शनिबार स्टार्मरसँग महत्त्वपूर्ण वार्ता भएको भन्दै युक्रेनको स्थिति बलियो बनाउने र भरपर्दो सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्ने विषयमा छलफल भएको प्रतिक्रिया दिए।

शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण भेटवार्तामा ट्रम्पले युक्रेनलाई अमेरिकाले दिएको समर्थन फिर्ता लिने धम्की दिएका थिए। उनले अमेरिकालाई अपमान गरेको भन्दै जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोपसमेत लगाएका थिए। 

जेलेन्स्की र ट्रम्पबीचको भनाभनपछि युरोपका नेताहरूले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका थिए।

यसैबीच, वरिष्ठ रुसी नेताहरूले जेलेन्स्कीको ह्वाइट हाउसमा भएको अपमानलाई खुसीका साथ लिएको बताएका छन्। अब अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्ने रुसको धारणा छ।