काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्‍ने भएको छ। आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार बस्ने भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सोमबारको भेटवार्तापछि मंगलबार सचिवालय बैठक राख्‍ने निर्णय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। मंगलबार ४ बजेको लागि बैठक डाकेको उनले बताए।

यसअघि, नेकपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको थियो। तर, प्रधानमन्त्री सचिवालयमा कोरोना फैलिएपछि स्थगित भएको थियो। 

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, प्रदेश ५ को राजधानी लगायतको विषयमा छलफल हुने बुझिएको छ। सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि भदौ २६ गतेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो। 

यस्तै, प्रधानमन्त्री ओलीले गत बिहीबार मुख्यसचिव र विभिन्‍न देशका लागि राजदूत नियुक्ति गरेका थिए। ओलीले एकलौटी रूपमा नियुक्ति गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल लगायतले असन्तुष्टि जनाइरहेका छन्।