काठमाडौं - संसद विघटनको विरुद्धमा उत्रिएको नेकपा (बहुमत) पक्षले आज देशैभरबाट काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत बहुमत पक्षले शुक्रबार मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउन लागेको हो ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ। बहुमतनिकट अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

गत पुस ५ गते ओलीले असंवैधानिक कदमका साथ प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि हाल नेकपा विभाजन भएको छ ।