संसदीय दलको नेताबाट हटाएपछि मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् ।
ओली समूहको नेतासमेत रहेका मुख्यमन्त्री राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।
निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।
आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सांसदलाई हस्ताक्षर गराएको भन्दै शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोलाई पदबाट बर्खास्त गरेका थिए। त्यसको भोलिपल्ट बिहान तीन मन्त्रीले पदबाट राजीनामासमेत दिएका थिए।
सोही दिन प्रदेशसभा सचिवालयमा ३७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
यस्तै, नेकपाको संस्थापन पक्षले प्रदेश नं १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता बनाएको छ।
बिहीबार बसेको दाहाल–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस