एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान शासन व्यवस्थामा परिवर्तन आउनु नै सबैभन्दा राम्रो कुरा हुने टिप्पणी गरेका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले सो टिप्पणी गरेका हुन् । उनले इरानसँग विगत ४७ वर्षदेखि केवल कुरा मात्र भइरहेको र यसबीचमा धेरैले ज्यान गुमाउनुपरेको बताए । 

उनले इरानको नेतृत्व कसले सम्हाल्नुपर्छ भन्नेबारे स्पष्ट नखुलाए पनि त्यहाँ नेतृत्व लिन सक्ने सक्षम व्यक्तिहरू रहेको संकेत गरे।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले भने ट्रम्पको यस पछिल्लो भनाइप्रति हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । 

यसैबीच, इरानलाई आणविक सम्झौताका लागि दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्नो दोस्रो विमानवाहक युद्धपोत पठाएको छ।

विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियन क्षेत्रबाट छिट्टै मध्यपूर्व प्रस्थान गर्ने ट्रम्पले जानकारी दिए ।