जर्मन चान्सलर एन्जेला मर्केल क्वारेन्टाइनमा
काठमाडौं - कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बसेको जनाइएको छ ।
चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको बीबीसीले जनाएको छ ।
जर्मनीमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले दुई हप्तासम्म दुई जनाभन्दा धेरै मान्छे भेला हुन नपाउने घोषणा गरेको केही मिनेटमै चान्सलर मर्केलका प्रवक्ता स्टेफन सेवर्टले उहाँ पनि सेल्फ क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएका थिए ।
चान्सलर मर्केललाई निमोनियाको सुई लगाइदिने चिकित्सकलाई कोरोना भाएको पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको प्रवक्ता सवर्टले जानकारी दिएको बीबीसीले जनाएको छ ।
क्वारेन्टनाइमा बसेकी मर्केललाई अरु व्यक्तिको नजिक जान रोक लगाइएको छ र नियमित स्वास्थ्य जाँच गरिने भएको छ । उनलाई निवासको वरपर खुला ठाउँमा धेरैबेरसम्म बिताउँन र स्वच्छ हावा लिन पनि चिकित्सकले सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्सकाअनुसार जर्मनीमा २४ हजार १ सय जनामा कोरोनाको संक्रमण देखिएको छ भने ९० जनाको ज्यान गएको छ ।
जर्मन सरकारले सबै प्रकारका सार्वजनिक कार्यक्रममा रोक लगाउँदै राष्ट्रिय आपतकालको घोषणा गरिसकेको छ । नागरिकलाई पूर्व सतर्कता अपनाउन जोड दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस