काठमाडौं-नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

कारागार कार्यालय डिल्लीबजारले चौधरीलाई रिहा गरिएको जनाएको छ ।

उक्त पत्र फेक भएको भन्दै सर्वोच्च अदालतले नै अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी रिहा भएका हुन् ।

यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ ।