काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् ।

नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन् ।

‘सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ’, उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ ।’ सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ, उनले भने ।

नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताए । नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उनले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गरे । उनले भने, ‘सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ । आउनु हामीसँगै जाउँ ।’ नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उनको भनाइ छ ।

नेकपा वाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बताए । ‘सबै दलसँग सहकार्य गरेर अब देशलाई समृद्धितर्फ लैजानु पर्दछ’, उनले भने, ‘एतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी जनताले नेकपाको काँधमा सुम्पिएको छ ।’

नेकपा केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संविधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताइन् । कार्यक्रममा नेकपा चितवन इञ्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले बोलेका थिए ।