काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेस्रो दिन पनि माइतीघरमा धर्ना दिएको छ ।

प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप सो पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा सो पक्षका संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको र संसद जीवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोधसभा गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको छ ।