काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्ने प्रयास भएको बताएका छन् ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । साथै, उनले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् ।

‘निर्ममतापूर्वक लोकतन्त्रको हत्या गर्न खोजिएको छ,’ प्रचण्डले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक र निरंकुशता झल्कने प्रष्ट संकेत साथ प्रतिनिधिसभा विघटन गरिएको छ। त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो।’

प्रचण्डले ओलीले गणतन्त्र धरापमा पारेको आरोपसमेत लगाएका छन् । उनले आफू पक्षमा दुई सय ९५ जना केन्द्रीय सदस्य रहेको प्रमाण हस्ताक्षर आज निर्वाचन आयोगमा बुझाएको पनि बताएका छन्।

ओली पक्षले एक सय जना केन्द्रीय सदस्य भेला गरेर ११ सय केन्द्रीय सदस्य भइयो भनेर अनैतिक र लज्जास्पद काम गरेको उनले आरोप लगाए।