भारतमा आइपिएलको विजयोत्सवमा भागदौड हुँदा सात जनाको मृत्यु
काठमाडौं - बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) को ऐतिहासिक जितपछि भव्य उत्सव मनाइँदै गर्दा दुःखद भएको घटेको छ।
मंगलबार राति अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा आरसीबीले पंजाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेपछि समर्थकहरू विजयोत्सवमा रमाइरहेका थिए।
१८ वर्ष लामो प्रतीक्षापछि आएको जितले समर्थकहरूमा अपार खुशीको माहोल सिर्जना गर्यो। फ्रेन्चाइज आइकन विराट कोहलीका लागि पनि यो उपाधि विशेष महत्वको रह्यो, किनभने उनले २००८ देखि नै आरसीबीका लागि खेलेका छन् तर उपाधि भने यसअघि जित्न सकेका थिएनन्।
तर, यो खुसीको माहोलमा एक दुःखद घटना हुन पुग्यो । सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू अनुसार, रंगशालाबाहिर अत्यधिक भिड भएका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि कर्नाटक प्रहरीले भिड व्यवस्थापन गर्न हल्का बल प्रयोग गरेको थियो।
यसैबीच, चिन्नास्वामी रंगशालामा आरसीबीको विजयोत्सवको क्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको खबर आएको छ, जसमा एक बालक पनि छन्। घटनामा २५ भन्दा बढी मानिस घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार जुलूसमा सहभागी हुन ठूलो संख्यामा भीड जम्मा भएको थियो । स्टेडियम बाहिर प्रवेश गर्न खोज्ने समर्थकहरूको भीडले स्थिति नियन्त्रण बाहिर गएको थियो ।
प्रहरी स्रोतका अनुसार अचानक भएको भागदौडमा केही व्यक्ति लडेर च्यापिए, जसका कारण उनीहरुको ज्यान गएको पुष्टि भएको छ । अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय प्रहरीले घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।
विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ ।
आरसीबीले एक विज्ञप्तिमा भनेको छ–‘हाम्रो टिमको जीतको उत्सवमा यस्तो घटना हुनु अत्यन्त दुःखद छ । हामी पीडित परिवारसँग छौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौ ।’
यो दुखद घटनाले आरसीबीको ऐतिहासिक जितको खुसीमा कालो छायाँ परेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस