काठमाडौं - नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न बतास समूहलाई दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का प्रक्रियाको छानबिनका लागि समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार ४ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

समितिलाई तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । 

रेस्टुरेन्ट संचालनका लागि ०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहको बी म्यानेजमेन्टलाई तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भएपछि मन्त्री आलेकाे निर्देशनमा निर्माण कार्य रोक लगाइएको थियाे ।