काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै छन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जाने छ ।

भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ ।