राष्ट्रियसभा निर्वाचनको लागि सत्ता गठबन्धनको भागबण्डा मिल्यो
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन्। सोमबार बिहान बसेको बैठकले रिक्त हुन लागेका राष्ट्रियसभा सदस्यहरुको सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो।
राष्ट्रिय जनर्मोचाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादी पार्टीले २ र जनमोर्चालाई १ सिट भागबण्डा गरिएको छ। यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबण्डा गरेको हो।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन बनाउँदैछन्। मंगलबार उम्मेदवारी दर्ताको दिन भएकाले आज सिट भागबण्डा भएको हो।
राष्ट्रियसभाको चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद आगामी फागुनदेखि बिदा हुँदैछन्। एमालेबाट ८ जना, माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट ४, नेपाली कांग्रेसबाट ३ जना र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन्।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ।
फेसबुक पेज Like गर्नुहोस