काठमाडौं - रुकुम पश्चिमको चौरजहारी घटनाका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई जिल्ला अदालत रुकुमले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतले केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ। यस्तै, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न अदालतले आदेश दिएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका –८ सोतीमा गत जेठ १० गते भएको घटनामा जाजरकोटका पाँच र रुकुम (पश्चिम)का एक जनाको ज्यान गएको थियो । जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको शव विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो।

उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गराएको थियो । कुल ३४ जना प्रतिवादीमध्ये ५ जना फरार रहेका छन् ।