काठमाडौं - भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो । 

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् । 

उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् । 

लकडाउनको समयमा फेरि उनलाई स्ट्रोक आएको हो । उनलाई केही समयदेखि आइसियुमा राखिएको थियो । उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् । युपीमा जन्मिएकी उनले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।