अतिआवश्यक सेवा बाहेका सबै सवारी-साधन आज राति १२ बजेदेखि सञ्चालनमा रोक
काठमाडौं - भोलि हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज राती १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
निर्वाचन आयोगको फागुन १६ गते बसेको बैठकले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन् ।
जसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ । त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवाका सवारी साधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारी साधनलाई पनि पासको अनिवार्यता गरिएको छैन ।
मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ । यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन सवारी पास नचाहिने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए ।
यसका साथै क्रियापुत्री बोकेका सवारी साधन र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कुटनीतिक नियोगका सवारी साधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस