ट्रम्पको टाउको ल्याउनेलाई ९ अर्ब पुरस्कार दिने इरानी संस्थाको घोषणा
एजेन्सी - वरिष्ठ जनरल कासिम सुलेमानीको हत्या भएपछि अमेरिका र इरानबीच जारी तनाव उत्कर्षमा पुगेको छ । दुबै देशका नेताहरुले एकअर्कालाई धम्की दिइरहेका छन् ।
इरानी अधिकारीहरुले अमेरिकासँग कठोर बदला लिने चेतावनी दिइसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बदला स्वरुप इरानले हमला गरे कडा र तीव्र जवाफ दिने भनेका छन् ।
चेतावनीपछि इरानको एक संस्थाले उनको टाउकोको मूल्य समेत तोकेको छ । मृतक सुलेमानीको अन्तेष्टि कार्यक्रमको एक आयोजकले ट्रम्पको टाउकाको मूल्य ८० मिलियन अमेरिकी डलर (९ अर्ब नेपाली रुपैयाँ) तोकेको हो ।
उक्त संस्थाले सबै इरानीलाई १/१ अमेरिकी डलर दान गर्न समेत भनेको छ । तर आफ्नो टाउकोको मूल्य तोकेपछि ट्रम्पले पुनः कडा प्रतिक्रिया दिएका छन् । अमेरिकी सेना र नागरिकमाथि हमला भएमा अमेरिकाले अत्याधिक बल प्रयोग गरेर इरानमाथि हमला गर्ने ट्रम्पको भनाइ छ ।
यसअघि इराकस्थित अमेरिकी दूताबासमा भएको रकेट हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ वटा स्थानमा हमला गर्ने चेतावनी दिएका थिए ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले इरानका ५२ वटा ठेगाना पहिचान गरेको र अमेरिकी सम्पत्ति वा नागरिकमाथि कुनै हमला भए ती ठेगानामा हमला गर्ने चेतावनी दिएका हुन् ।
नयाँ वर्षको सुरुवातसँगै अमेरिका र इरानबीच बढेको तनावले विश्वभर युद्धको त्रास रहेको छ । सुरक्षाविद्हरुले पनि अमेरिका र इरान दुवै गम्भिर हुन आग्रह गरेका छन् । तर, दुवैले युद्धका लागि आफुहरु तयार रहेको बताइरहँदा इरानले सन् २०१५ मा गरेको परमाणु सम्झौताबाट आफूपछि हटेको घोषणा गरेको छ ।
इराकमा षड्यन्त्रपुर्वक अमेरिकाले आफ्नो इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल सुलेमानीसको हत्या गरेपछि इरानले परमाणु सम्झौताबाट पछि हटेको घोषणा गरेको छ ।इरानले अमेरिकाविरुद्ध युद्ध गर्ने घोषणा गरिसकेको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा इरान र अमेरिकासहितका शक्ति राष्ट्रबिच परमाणु सम्झौता भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण सबै सन्तुलन बिग्रिएको समिक्षकहरुले बताएका छन् ।
शुक्रबार इराकको राजधानी बग्दादमा रहेको विमानस्थल नजिकै गरेको हवाई आक्रमणमा सुलेमानीसको हत्या भएसँगै अमेरिका र इरानबीच गर्मागर्मीको अवस्था रहेको छ ।
अमेरिकाले पनि आफु युद्धका लागि तयार रहेको बताउँदै आइरहेको छ । चीन र रसियाले संयम रहन आग्रह गरिरहेका छन् । सुरक्षाविद्हरुले युद्ध भए विश्वभर ठुलो संकट आइपर्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस