काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने विश्वास रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ (ख) ले बुढानीलकण्ठमा आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै देउवाले आफूलाई ओलीले चुनाव गराउँछन् भन्ने विश्वास रहेको बताएका हुन् ।

चुनाव नगराए जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्ने पनि उनले बताएका छन् । ‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्,’ उनले भने ,‘गराएनन् भने सबै जनता मिलेर ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ ।’ देउवाले जुलुसको आधारमा अदालतले निर्णय गर्नु नहुने पनि बताएका छन् ।

कांग्रेस चुनावमा जाने पार्टी हो भन्दै देउवाले कार्यकर्तालाई जनतामाझ जान निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘५–६ महिनामा चुनाव हुन्छ, नभए पनि दुई वर्षपछाडि त चुनाव हुन्छ । त्यसैले जनतामा जानुस् ।’

देउवाले निर्वाचनमा जान पनि तयार रहनुपर्छ भनेपछि अडियन्सबाट कार्यकर्ताले चुनावमा गएपनि काँग्रेसले नजित्ने दाबी गरे । त्यसपछि ती व्यक्तिले देउवालाई ‘महाभारतमा भीष्मको रुपमा नरहनु होला’ भनेर सुझाव समेत दिए । उक्त अप्रत्यासित अभिव्यक्तिले केही समय देउवाको सम्बोधन नै प्रभावित भएको थियो।