काठमाडौं- सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । तर, सरकारको नेतृत्व गरिरहेको दलको पहलमा बोलाइएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् । सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारमाथि आलोचना बढिरहेको र तराई–मधेशका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका बेला त्यस विषयमा साझा धारणा बनाउन रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी छन्।

तर, घटनासँग प्रत्यक्ष जोडिएका सरकारका प्रमुख जिम्मेवार पदाधिकारी प्रधानमन्त्री र गृहमन्त्रीकै अनुपस्थितिले भने बैठकको प्रभावकारिता र सरकारको भूमिकाबारे थप प्रश्न उठाएको छ।