काठमाडौं - काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्न सरकारले आवेदन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना जारी गरी आवेदन खुला गरेको हो।
लोपोन्मुख, आदिबासी जनजाति तथा दलित वर्गका विद्यर्थीले आवेदन दिन सक्नेछन्। काठमाडौं बाहिरबाट उपत्यकामा आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने यी वर्गमा विद्यार्थीले आवेदन दिन सक्नेछन्।
यस्तो सुविधा सरकारी र सामुदायिक शिक्षण संस्थामा अध्ययनरतले पाउनेछन्। एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत पुर्याउन विद्युतीय चुलो उपलब्ध गराउन लागिएको हो।
विद्यार्थीहरूले आगामी असार ९ गते भित्रमा आवेदन दिइ सक्नुपर्नेछ। अनिवार्य रूपमा अनलाइन फाराम भरेर इमेलमा आएको टोकन नम्बर निवेदनमा समावेश गरेर केन्द्रमा बुझाउनुपर्छ।
आवेदन भर्नको लागि नागरिकताको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्र प्रतिलिपि र लोपोन्मुख आदिवासी, जनजाति तथा दलित वर्ग भएको खुल्ने परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ। यसले विद्युतीय चुलो प्रवद्धन गर्नका लागि सहयोग पुग्ने केन्द्रको भनाई छ।

.gif)


